मोबाइल बन्द, पाहुना निषेधसहितको ‘कडा नियम’ लगाउँदै रास्वपाको आफ्नै सांसदलाई दुई दिने गोप्य अभिमुखीकरण

  • प्रकाशित मिति : २०८२ चैत्र ३, मंगलवार
  • नेपाल टेल संवाददाता

रास्वपाले नवनिर्वाचित आफ्ना सांसदहरूलाई भोलिदेखि दुई दिने अभिमुखीकरण तालिम दिने भएको छ। ललितपुरको एक होटलमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि पार्टीले कडा आचारसंहिता समेत लागू गरेको छ।

पार्टीले जारी गरेको सूचनाअनुसार तालिम हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। कार्यक्रमस्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश पनि निषेध गरिएको छ।



रास्वपाले सांसदहरूलाई परिवारका सदस्य, साथी वा अन्य अतिथिलाई होटलमा बोलाउन नपाइने स्पष्ट निर्देशन दिएको छ। त्यसैगरी कार्यक्रमका क्रममा परिवार वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा छुट्टै बैठक गर्ने कामसमेत नगर्न भनिएको छ।

तालिममा सहभागी हुने सांसदहरूले भद्र पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ। चालक वा अन्य सहयोगीका लागि भोजन तथा आवासको व्यवस्था भने सांसदहरूले आफैं गर्नुपर्ने सूचनामा उल्लेख छ।

कार्यक्रममा पत्रकारहरूको प्रवेश पनि सीमित गरिएको छ। सञ्चारकर्मीहरूलाई उद्घाटन र समापन सत्रमा मात्र रिपोर्टिङका लागि उपस्थित हुन अनुमति दिइएको छ।

पार्टीका सभापति रवि लामिछानेले तालिमको समापन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।