मधेसमा विपन्न र निरक्षर चालकलाई ट्रायल मात्रै पास भएपनि लाइसेन्स दिइने

  • प्रकाशित मिति : २०८२ चैत्र ४, बुधबार
  • नेपाल टेल संवाददाता

मधेस प्रदेश सरकारले ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकलाई लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने भएको छ ।

सय दिने उपलब्धी सार्वजनिक गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण यादवले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा महत्वपूर्ण सहजीकरण गर्ने बताए ।



मुख्यमन्त्री यादवले प्रदेशमा ठूलो सङ्ख्यामा रहेका यस्ता चालकको बाध्यतालाई बुझेर लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने कानूनी आधार तयार पारिएको जानकारी दिए ।

मुख्यमन्त्रीले मोटरसाइकल जस्ता सवारी साधनहरू सौख र व्यक्तिगत प्रयोजनका लागि बढी प्रयोग हुने भएपनि ई–रिक्सा र ट्याक्टर पूर्णरूपमा गरिबको पेट पाल्ने माध्यम भएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको प्रस्ट पारे ।

यस निर्णयले मधेस प्रदेशका हजारौँ विपन्न मजदुरहरूलाई कानूनी रूपमै सवारी चलाएर आफ्नो जीविकोपार्जन गर्न बाटो खुल्ने उनको विश्वास छ ।