राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गालीका पर्याय नै थिए । उनले जहाँ भाषण गरुन् वा सामाजिक संजालमा लेखुन्, उनी उनको भाषामा पुराना दल र दलका नेताहरुलाई गाली गर्दै आक्रोश मात्र पोख्ने गर्थे । उनी आफू सत्तामा पुगेपछि त्यसको बदला लिने भन्दै आक्रोश पोख्थे । तर फागुन २१ को निर्वाचनले रास्वपालाई झण्डै दुई तिहाईको मत दिएको छ । दुई तिहाई नजिकको दलको नेताको अब कस्तो भाषण सुन्न पाइने हो भन्ने धेरैको जिज्ञासा थियो । यसैक्रममा रास्वपाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम राखेको थियो । कार्यक्रम समापनका क्रममा सभापति लामिछानेले सम्बोधन गरेका थिए । हिजो आक्रोश अर्थात आगो ओकल्ने रवि लामिछाने अहिले फरक सुनिए, देखिए अनि बुझिए । रविको बुधबारको भाषण सुनेपछि यतिबेला सर्वत्र रविको प्रशंसा हुन थालेको छ ।
वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले यो रविको सम्बधोन समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसने भन्दै टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्ः
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन-जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर–पार्टी भाषणीय घटना मात्र होइन, यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ । उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे । उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन, त्यहाँ सचेत चेतावनी पनि थियो । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे । रवि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे ।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन, यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजित भइरहन्छ । यो बेग्लै कुरा हो, कोही जित पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन । समग्र समाजका लागि पनि , दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति एक रोचक र मननीय अभिलेख हुनसक्छ ।
त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि रविको प्रशंसा गरेका छन् । उनले रविको अभिव्यक्ति निकै सकारात्मक भनेका छन् । उनी लेख्छन्ः
हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईष्र्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्। पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसँग झल्केको छ। त्यो कायम रहोस् । दोश्रो, रास्वपाले पाएको यो प्रचण्ड अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई प्राप्त मत भन्दा समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो भन्ने सोंच वस्तुपरक छ । त्यसनिम्ति पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नु भन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धीको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ। हार्दिक शुभकामना ।
पूर्वराजदूत निलाम्बर आचार्यले रविको सम्बोधन जिम्मेवारीपूर्ण रहेको टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिमुखीकरण सम्बोधन हेरेँ, सुनेँ । जिम्मेवारीको गम्भीरताअनुरूप जिम्मेवारीपूर्ण अभिव्यक्ति भएको पाएँ । प्रस्तुति राम्रो लाग्यो । बोली व्यवहार राम्रो रहोस् । काम समयमै सम्पन्न हुने गरोस् । देश सबैको हो । एकता बलियो रहोस् । शुभ होस् ।’
कलाकार दीपकराज गिरीले रविले बोलेको कुराले उहाँहरूमा जोश मात्रै होइन होश पनि छ भन्ने कुरा प्रतित भएको टिप्पणी गरेका छन् । उनी लेख्छन्, ‘मैले उहाँलाई बिगत १ वर्षदेखि भेटेको छैन । सायद पोखरा कारागारमा अन्तिम पल्ट भेटेको थिएँ । यदि दिनरात लागिरह्यो भने, स्टिलमा पनि लेउ लाग्छ सक्छ भन्ने कुराको उदाहरण नै हो उहाँ । संयोग पनि होला उहाँका पनि सुरूमा कलाकार अब हुनेवाला प्रधानमन्त्री पनि कलाकार एक कलाकारको हिसाबले यो खुसीकै कुरा भयो । सायद मैले यो पोष्ट गर्दिन पनि थिए होला । तर आज उहाँले बोलेको कुराले उहाँहरूमा जोश मात्रै होइन होश पनि छ भन्ने कुरा प्रतित भएको । सफलताको ५ वर्षे शुभकामना !’