कैलालीमा एक युवकले गोली हानी श्रीमतीको हत्या गरेका छन् ।
गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले भरुवा बन्दुकले गोली हानी २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
बुधबार अपरान्ह जंगलमा बाख्रा चराउन गएका बेला विवाद भएपछि रामबहादुरले आफुसँग भएको बन्दुकले गोली हानी श्रीमतीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई गोली हानेका थिए । घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
संजिताको शव घटनास्थलमा नै छ । घटनाबारे थप अनुसन्धान भइरहेकोे डीएसपी तिमिल्सिनाले जानकारी दिए ।