रक्षा बममाथि दुर्व्यवहार गरिएको भन्दै जेनजी फ्रन्टको भर्त्सना

  • प्रकाशित मिति : २०८२ चैत्र ६, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाल जेनजी फ्रन्टले आफ्नो संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ।

फ्रन्टले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जारी शान्तिपूर्ण आन्दोलनका क्रममा संयोजक बममाथि दुर्व्यवहार भएको भन्दै आपत्ति जनाएको हो।



संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण भेला हुने तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै आन्दोलन गरिरहेकी एक अभियन्तामाथि आक्रमण हुनु लोकतान्त्रिक मूल्य विपरीत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यसप्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन । हामी के पनि स्मरण गराउन चाहन्छौँ भने भदौ २३ को त्यो कहालीलाग्दो दिनरात, आफन्तको शव बोकेको पीडा, शरीरमा बोकेका घाउ र मनमा बाँकी रहेको आक्रोश हाम्रो मनमा ताजै छ।’

आन्दोलनका घाइते र शहीद परिवारका साथीको रिस, पीडा, आक्रोश र प्रश्नहरू स्वाभाविक भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘ती आँसु र त्यो आक्रोशप्रति हामी सधैँ सम्मान व्यक्त गर्नेछौँ। प्रश्नबेगरका आन्दोलनहरू त कमजोर हुन्छन्। कुनै पनि आन्दोलनमा असहमति र प्रश्नहरू हुनु त्यस आन्दोलन जीवन्त रहेको प्रमाण हो।’