सर्वोच्च अदालतमा भनसुन गर्ने भन्दै ९ लाख असुली गरेको आरोपमा श्रीमान्‌श्रीमती पक्राउ

  • प्रकाशित मिति : २०८२ चैत्र १८, बुधबार
  • नेपाल टेल संवाददाता

गत २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न भई हाल कारागार कार्यालय काठमाडौं, सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई धरौटीमा छुटाइदिने बहानामा रकम असुली गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं जिल्ला, बूढानीलकण्ठ नगरपालिका, मण्डिखाटार हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर र सोही स्थान बस्ने ३७ वर्षीया मीठु मगर (अनिता थापामगर) रहेका छन् ।



प्रहरीका अनुसार हरिबहादुर थापा मगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशमार्फत भनसुन गरी थुनामा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए । उनले धरौटी रकम र वकिलको बहस खर्चका नाममा रकम आवश्यक पर्ने भन्दै पीडित पक्षलाई विश्वासमा पारेका थिए ।

उक्त आश्वासनका आधारमा उनले आफ्नी श्रीमती मीठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको आरोप छ ।

प्रहरीले दुवै जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।