जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको मृत्यु

  • प्रकाशित मिति : २०८३ बैशाख ६, आईतवार
  • नेपाल टेल संवाददाता

जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा शनिबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर केसीले बनगाड कुपिण्डे नगरपालिकाकाे वडा नम्बर ८ थाराबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जन्ती बोकेको जीप वडा नम्बर १० धाइरेमा दुर्घटनामा भएको जानकारी दिए ।



उनका अनुसार मृतककाे पहिचान खुल्न सकेकाे छैन । घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भिर रहेकाे छ । घाइतेहरुलाई नजिककाे स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।