वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन अब कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा पूर्ण रूपमा अनलाइन बनाउँदै ‘फेसलेस’ प्रणाली लागू गरेको हो।
यसका लागि एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ विश्वविद्यालय (केयू) का प्रणालीसँग एपीआईमार्फत जोडिएको छ। त्रिविसँग वैशाख ४ गते सम्झौता भएको हो भने केयूसँग यसअघि नै सहकार्य भइसकेको छ।
अब विद्यार्थीहरूले घरबाटै अनलाइन आवेदन दिन सक्नेछन् र प्रक्रिया पूरा भएपछि प्रमाणपत्र आफैं डाउनलोड तथा प्रिन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ। एनओसी सर्टिफिकेटमा क्यूआर कोड रहनेछ, जसलाई स्क्यान गरेर प्रमाणिकरण गर्न सकिनेछ।
यसअघि स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययनका लागि आवेदन दिँदा विश्वविद्यालयका प्रमाणपत्र रुजु गर्न सेवाग्राहीलाई अनिवार्य रूपमा कार्यालय पुग्नुपर्ने बाध्यता थियो। अब त्रिवि र केयूको प्रणालीसँग सीधा अन्तरआवद्धता भएपछि रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा प्रमाणपत्रको विवरण स्वतः प्रमाणीकरण हुने भएकाले भौतिक उपस्थितिको आवश्यकता हटेको छ।
यसअघि नै नागरिकता विवरण गृह मन्त्रालयको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (सीआइएमएस) र शैक्षिक विवरण राष्ट्रिय परीक्षा बोर्डसँग जोडिएको प्रणालीबाट प्रमाणीकरण हुँदै आएको थियो।
यस्तै, महालेखा नियन्त्रण कार्यालयको ‘रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग जोडिएकाले एनओसी शुल्क पनि पूर्ण रूपमा अनलाइनमार्फत भुक्तानी गर्न सकिनेछ।
एनओसी शाखाका अनुसार नयाँ प्रणाली लागू भएसँगै सेवा छिटो, पारदर्शी र झन्झटमुक्त बन्ने अपेक्षा गरिएको छ। अब वैदेशिक अध्ययनका लागि आवश्यक प्रमुख कागजातमध्ये एक एनओसी लिन सेवाग्राहीलाई लाइन बस्नुपर्ने वा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएको छ।