सरकारले काठमाडौँ महानगरपालिकाभित्रका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनेका बस्ती हटाउने अभियानलाई निरन्तरता दिएको छ । यसै क्रममा शनिबार बिहान वडा नं. ११ स्थित थापाथलीको बस्ती खाली गराइएको छ ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयवासीको सामान उठाउने तथा ढुवानीमा सहयोग गरेका थिए ।
बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको कदमप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।
यसअघि वडा नं. ९ को गैरीगाउँ र वडा नं. ३१ को शान्तिनगर क्षेत्रमा पनि नदी किनार र जोखिमयुक्त स्थानमा बनेका बस्ती हटाउने काम अघि बढाइएको थियो ।
हालसम्म यी तीन क्षेत्रबाट १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । कुनै परिवार छुटेका छन् कि भनेर खोजी तथा उद्धार कार्यसमेत जारी रहेको सम्बन्धित निकायले जनाएको छ ।
सम्पर्कमा आएका परिवारहरूलाई प्रारम्भिक रूपमा दशरथ रंगशालामा लगेर विवरण संकलन गरिएको छ । त्यसपछि उनीहरूलाई अस्थायी रूपमा काठमाडौँका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ ।
साथै, घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपाल परिसरमा छुट्टाछुट्टै भण्डारण गरिएको छ ।
यसैबीच, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका बस्तीहरू खाली गर्ने तयारी भए पनि शनिबारका लागि उक्त प्रक्रिया स्थगित गरिएको छ । सम्बन्धित निकायका अनुसार आगामी दिनमा आवश्यक समन्वयपछि सो कार्य अघि बढाइनेछ ।