विश्वकप लिग–२ मा नेपालको उत्कृष्ठ विजयी सुरुवात, यूएईलाई ३७ रनले हरायो

  • प्रकाशित मिति : २०८३ बैशाख १३, आईतवार
  • नेपाल टेल संवाददाता

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा १६३ रनमै अलआउट भएको हो ।

यूएईका हरप्रित सिंहले ३९ रन बनाए । त्यस्तै,, मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३०, आर्यान्स शर्माले १८ रन र निलान्स केसवानीले १८ रन बनाए ।



बलिङतर्फ नेपालका करण केसीले ९.२ ओभरमा २ मेडेनसहित १९ रन खर्चेर चार विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा २ मेडेनसहित २५ रन खर्चेर दुई विकेट लिए भने सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर दुई विकेट लिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रन बनाएको थियो ।

ब्याटिङमा नेपालका दीपेन्द्र सिंह ऐरीले ९० बल खेलेर ५ चौका र २ छक्का प्रहार गर्दै ७६ रन जोडे । यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोडे ।

बलिङमा यूएईका जुनैद सिद्धिकी र अजय कुमारले तीन–तीन विकेट लिए । खुजैमा तनवीरले दुई, हैदर अली र मुहम्मद शहदादले एक–एक विकेट लिए ।