कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका–७ ‘च गाउँ’को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिँदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको हो ।
घाइते अवस्थामा उपचारका लागि धनगढी ल्याइएका उनीहरू मध्ये अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।