चलचित्र ‘लालीबजार’लाई प्रदर्शनको बाटो खुल्यो

  • प्रकाशित मिति : २०८३ बैशाख २४, बिहीबार
  • नेपाल टेल संवाददाता

चलचित्र लालीबजारको प्रदर्शनमा लागेको रोक हटेसँगै अब यसको प्रदर्शनको बाटो खुलेको छ। उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएको ठहर गर्दै चलचित्र प्रदर्शन गर्न अनुमति दिएको हो।

अदालतले रिट निवेदनमा उठाइएका विषयहरू अन्तिम सुनुवाइका क्रममा विस्तृत रूपमा विचार गर्न सकिने उल्लेख गर्दै तत्काल रोक जारी राख्नुपर्ने अवस्था नरहेको आदेशमा जनाएको छ। यसअघि वैशाख १५ गते न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले चलचित्र प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो, जसका कारण वैशाख १८ देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र रोकिन पुगेको थियो।



रोशनी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत कारण देखाऊ आदेश दिएको थियो। लालीबजार यम थापाद्वारा निर्देशित चलचित्र हो, जसमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँलगायत कलाकारको अभिनय रहेको छ।

बादी समुदायका महिलाको कथामा आधारित यस चलचित्रको पक्ष र विपक्षमा बहस भइरहेको छ। प्रदर्शन रोकिएपछि माइतीघर मण्डलामा विरोध प्रदर्शनसमेत भएको थियो। अब अदालतको पछिल्लो आदेशसँगै चलचित्र प्रदर्शनका लागि मार्ग खुला भएको छ।