झापा–५ मा सुकुम्वासी आक्रोश: डोजर अभियानविरुद्ध सडकमा, स्थानीय तह सरकारसँग आमनेसामने

  • प्रकाशित मिति : २०८३ बैशाख २४, बिहीबार
  • नेपाल टेल संवाददाता

सुकुम्वासी तथा भूमिहीन बस्तीमा डोजर चलाएर उठिबास गराइएको भन्दै झापा क्षेत्र नं. ५ मा विरोध चर्किएको छ। प्रधानमन्त्री बालेन्द्र शाह निर्वाचित क्षेत्रमै स्थानीय बासिन्दा आन्दोलित बनेका हुन्। बुधबार दमकमा सुकुम्वासीहरूले नाराजुलुससहित प्रदर्शन गर्दै वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउनु अमानवीय भएको बताएका छन्।

अखिल नेपाल सुकुम्बासी सङ्घको आयोजनामा भएको र्‍यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गरेको थियो। यसअघि कमल गाउँपालिका र बिर्तामोडमा पनि सुकुम्वासीहरूले प्रदर्शन गर्दै बसोबासकै स्थानमा भूमि स्वामित्व माग गरेका थिए।



यता स्थानीय तहका जनप्रतिनिधिहरू भने संघीय सरकारको कदमप्रति असन्तुष्ट देखिएका छन्। दमकका मेयर रामकुमार थापाले केन्द्रबाट निर्देशन दिने शैलीको आलोचना गर्दै स्थानीय सरकार जनप्रतिनिधिमूलक निकाय भएको बताएका छन्।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पनि डोजर नचलाइने स्पष्ट पार्दै सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन्।