सरकारले विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै आवेदन खुलाएको हो।
सूचनाअनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय का उपकुलपति पदका लागि दरखास्त मागिएको हो।
इच्छुक तथा योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन सक्ने जनाइएको छ।
यसअघि सरकारले अध्यादेशमार्फत अघिल्लो सरकारले नियुक्त गरेका करिब १५ सय पदाधिकारीको नियुक्ति खारेज गरेपछि विश्वविद्यालयहरूमा उपकुलपतिसहित विभिन्न पद रिक्त रहेका छन्।
उपकुलपति सिफारिस समिति शिक्षा मन्त्री सस्मित पोखरेल को नेतृत्वमा गठन गरिएको हो। समितिमा शिक्षा सचिव चुडामणि पौडेल र राष्ट्रिय योजना आयोगकी सदस्य रेसु अर्याल ढुगाना सदस्य रहेका छन्।