फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले लाखौँदेखि करोडौँ रुपैयाँसम्म खर्च गरेको विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार तीन प्रमुख दलले मात्रै करोडभन्दा बढी रकम खर्च गरेका छन्।
सबैभन्दा बढी खर्च गर्ने दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखिएको छ। रास्वपाले समानुपातिक निर्वाचन अभियानमा २ करोड ११ लाख ६४ हजार ६१८ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ।
त्यसपछि नेपाली कांग्रेसले १ करोड ९६ लाख ३९ हजार ३०६ रुपैयाँ १० पैसा खर्च गरेको विवरण पेश गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि १ करोड ९६ लाख २० हजार रुपैयाँ खर्च गरेको जनाएको छ।
नेकपा (एमाले) ले ७५ लाख ५५ हजार ५६१ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि उक्त विवरण आयोगमा औपचारिक रूपमा नबुझाइएको उल्लेख गरिएको छ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १९ लाख ७१ हजार ५६२ रुपैयाँ तथा श्रम संस्कृति पार्टीले १६ लाख ८६ हजार ५५७ रुपैयाँ खर्च गरेको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ यसपटक ६ वटा दलले प्रतिनिधिसभामा सिट प्राप्त गरेका थिए। आयोगले सिट नपाएका अन्य दलहरूको खर्च विवरणसमेत क्रमशः सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

