सप्तरीको बभनगामामा आगलागीबाट १३ घरगोठ जलेर नष्ट

  • प्रकाशित मिति : २०८३ बैशाख २७, आईतवार
  • नेपाल टेल संवाददाता

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार राति भएको भीषण आगलागीमा ६ परिवारका १३ वटा घर तथा गोठ जलेर नष्ट भएका छन् ।

स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ। साँझ करिब ७ बजे एक्कासी गोठबाट सुरु भएको आगोले तीव्र रूप लिँदा रामअवतार यादवको २ घर र १ गोठ, जुगाई यादवको २ घर र १ गोठ, अनिल यादव (गिरिजा) को २ घर र १ गोठ, योगिन्द्र यादवको १ घर, राजकुमार यादवको १ घर तथा धिरेन्द्र यादवको १ घर जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीयले बताएका छन्।



आगलागी नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका र मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुणयन्त्र, को.बरसाइन प्रहरी चौकीका प्रहरी तथा स्थानीयबासी खटिएका थिए। करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको जनाइएको छ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४० लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा क्षतिको विवरण संकलन कार्य जारी रहेको डम्बरबहादुर पुरीले जानकारी दिएका छन्।