संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची तय भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। संविधानको धारा ९५ अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ।
यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्नेछ। प्रतिनिधिसभामा अधिवेशन आह्वानसम्बन्धी पत्र जानकारी गराउने, मन्त्रिपरिषद् हेरफेरबारे सूचना दिने, नियमावलीसम्बन्धी प्रस्ताव तथा विभिन्न कार्यसूची प्रस्तुत हुनेछन्।
त्यसैगरी, संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेशसहित आठ वटा अध्यादेश दुवै सदनमा पेस गरिने संसद् सचिवालयले जनाएको छ।
अधिवेशनको सुरुवातसँगै सरकारको नीति, बजेट र विधेयकसम्बन्धी गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ।