नेपाली कांग्रेसले सरकारले संसद छलेर अध्यादेशको बाटो रोजेको भन्दै आपत्ति जनाएको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारलाई प्रश्न गरेका हुन् ।
उनले संवैधानिक परिषदमा ६ को बहुमत कसरी ३ हुन्छ भन्दै प्रश्न गरे । उनले भने, ‘सरकारले किन संसदलाई छोडेर अध्यादेशको बाटो समात्यो ? अन्य विषय बहस गर्दै गरौँला, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ६ जना सदस्यमध्येमा ३ जनाको उपस्थिति हुँदा कसरी बहुमत पुग्छ ?’
उनले प्रतिनिधिसभा नियमावलीमा भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भन्दै प्रश्न गरे ।
प्रतिनिधिसभा नियमावलीको नियम २५९ मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानूनसरह लागू हुने’ भनिएको छ । राईले भने, ‘भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन ? संसद्, संसदीय समिति र सांसदलाई अन्य कानुनले छुनै नसक्ने हामी यति सुप्रिम कसरी हुन सक्छौं ?’
उनले सरकारले शहर सुन्दर बनाउने नाममा नागरिकको भरोसा भत्काएको भन्दै आपत्ति जनाए । उनले भने,‘राज्यले नागरिकको केही दिनको सुत्केरीलाई समेत अन्याय गर्यो । राज्यले मातृत्वको सम्मान गरेन । नागरिकको ज्यानसमेत गएको छ ।’