रास्वपा वैचारिक दल होइन, ‘अस्थायी गठजोड’ हो : बादल

  • प्रकाशित मिति : २०८३ बैशाख २९, मंगलवार
  • नेपाल टेल संवाददाता

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैचारिक आधारमा स्थापित राजनीतिक दल नभई “अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड” भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको उदय दशकौँदेखि सत्तामा रहेका दलहरूको कमजोरी, एआई र अल्गोरिदमको प्रभाव तथा विश्व भू–राजनीतिक परिस्थितिको परिणाम भएको दाबी गरे।



उनले भने, “रास्वपाको सफलता देश र जनताका लागि दशकौँदेखि गरिएको योगदान, बलिदान, प्रतिभा वा क्षमताबाट प्राप्त भएको होइन। यो तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु तथा विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम हो।”

थापाले प्रतिनिधिसभा तथा संघीय सरकारमा आफ्नो नेतृत्व स्थापित गरेपछि रास्वपाले निर्धारित अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश जारी गरेको आरोप लगाए। उनका अनुसार ती अध्यादेशको राजनीतिक उद्देश्य राज्यको प्रशासनिक र न्यायिक संयन्त्रमा एकल प्रभुत्व कायम गर्नु थियो।

“यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो,” उनले भने।

थापाले रास्वपाको आगामी राजनीतिक लक्ष्य स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभामा आफ्नो एकल नेतृत्व स्थापित गर्नु रहेको दाबी गरे।

उनले भने, “यो लक्ष्य हासिल गरेपछि मात्रै रास्वपाको कथित ‘निलो क्रान्ति’ले पूर्णता पाउन सक्छ।”