नीति तथा कार्यक्रम हुबहु मिलेको ज्ञानेन्द्र शाहीको आरोप

  • प्रकाशित मिति : २०८३ बैशाख २९, मंगलवार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पुरानै दस्तावेजको हुबहु प्रतिलिपि भएको आरोप लगाएका छन्।

संसदमा बोल्दै शाहीले दुई फरक आर्थिक वर्षका नीति तथा कार्यक्रमका पुस्तिका देखाएर तुलना गर्दै आलोचना गरे। उनका अनुसार २०८३ सालको नीति तथा कार्यक्रम र २०८१ सालको दस्तावेजबीच उल्लेख्य अन्तर छैन।



“मेरो हातमा दुईवटा किताब छन्। एउटा २०८३ सालको नीति तथा कार्यक्रम र अर्को २०८१ सालको नीति तथा कार्यक्रम। हुबहु एउटै छ,” उनले भने। शाहीका अनुसार २०८१ सालको नीति तथा कार्यक्रममा २१७ बुँदा थिए भने पछिल्लो संस्करणमा १०० बुँदा भए पनि अधिकांश विषय उस्तै छन्।

“एक–दुई ठाउँमा साना फरक छन्, तर मूल रूपमा हुबहु मिल्छ। केही शब्द त ज्यूँका त्यूँ सारिएको छ,” उनले आरोप लगाए। उनले सरकारले नयाँ सोच र सुधारको अपेक्षा गरिएको भए पनि पुरानै दस्तावेज दोहोर्याइएको भन्दै असन्तुष्टि जनाए।

“हामीले व्यापक सुधारको अपेक्षा गरेका थियौं, नयाँ अनुहार पनि छन् सरकारमा। तर नीति तथा कार्यक्रम हेर्दा त फोटोकपि जस्तै छ,” शाहीले भने।