२४ औं गोर्खा कपमा ४० टोलीबीच प्रतिस्पर्धा हुने, दर्ताका लागि समय थप

  • प्रकाशित मिति : २०८३ बैशाख २९, मंगलवार
  • नेपाल टेल संवाददाता

बेलायत । तमु धीं यूकेको आयोजनामा आगामी मे २४ तारिखमा हुने २४ औं गोर्खा कपको तयारी तीव्र पारिएको छ ।

यस वर्षको मुख्य पुरुष विधामा पहिले ३२ टिम सहभागी गराउने भनिएपनि प्रतियोगिताको बढ्दो आकर्षण र विभिन्न क्लबहरूको चाहनालाई ध्यानमा राख्दै पहिलोपटक थप ८ टिमलाई अवसर दिन लागिएको हो ।



योसँगै मुख्य विधमा ४० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं तमु धीं यूकेका स्पोर्ट्स सेक्रेटरी क्याप्टेन दीपक घलेले जानकारी दिए । उनका अनुसार ३२ टोलीको नियमित दर्ता प्रक्रिया पूरा भइसकेको छ भने थप गरिएका ८ टोलीका लागि आगामी मे १६ तारिख शुक्रबारसम्मको समयसीमा तोकिएको छ ।

आयोजकका अनुसार गोर्खा कपमा सहभागी हुन इच्छुक टोलीहरूको संख्या हरेक वर्ष बढिरहेको छ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले खेलाडी र फुटबल टिमहरूको व्यापक अनुरोधलाई कदर गर्दै टोली संख्या बढाउने निर्णयमा पुगिएको बताए । टिमको संख्या थपिएसँगै खेल झनै प्रतिस्पर्धात्मक, रोचक र मनोरञ्जनात्मक हुने र यसले खेलाडी तथा दर्शकमा उत्साह बढ्ने उनको भनाइ छ ।

गत आईतबार भएको संस्थाको जुम मिटिङमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा अध्यक्ष कमलादेवी गुरुङले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । सोही अवसरमा अन्तिम तयारीका बारेमा जानकारी दिनका लागि १७ मेमा आफ्नै तमु धीं यूकेको आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरिएको प्रतियोगिता संयोजक एवं तमु धीं यूकेका स्पोर्ट्स सेक्रेटरी क्याप्टेन दीपक घलेले जानकारी दिए ।