रास्वपाका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय माग्दै मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएपछि उनीहरूले आपत्ति जनाएका हुन् ।
चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको थियो ।
त्यसबारे अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘सर्वोच्च अदालत कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश भन्ने एउटा आदेश अहिले मिडियामा छरपस्ट आएको छ। यो आदेश इजलास संयुक्त हो कि, एकल हो कि, वा बृहत् इजलास हो कि, या पूर्ण इजलास हो कि, या संविधानको कुन धाराले गाइड गरेको इजलास हो, यहाँ देखिन्न । अदालतका आफ्ना मर्यादा र सीमा छन् ।’
कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएको भन्दै असन्तुष्टि जनाए ।
सांसद बास्कोटाले पनि मल्लको अभिव्यक्तिप्रति आपत्ति जनाइन् ।
उनले भनिन्, ‘उहाँले लडाइँ अझै बाँकी छ भन्नुभएको छ, को सँग लडाइँ बाँकी छ ? उहाँ त न्यायमूर्ति हो । उहाँले सरकारसँग लडाइँ अझै बाँकी छ भन्नुभएको हो ? राजनीति गर्न मन भए कोट खोलेर आउनुहोला हामी तयार छौँ ।’