नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री वालेन्द्र शाहले बहुमतको दम्भ देखाएर सरकार सञ्चालन गरिरहेको आरोप लगाएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारले संसद् र संसदीय समितिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको बताइन्। प्रतिपक्षी दलहरूले बैठकमा विरोध जनाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालबाट समय लिएर उनले आफ्नो धारणा राखेकी हुन्।
थापाले संसद् केवल संख्याको खेल नभई विचार, विमर्श र उत्तरदायित्वको थलो भएको उल्लेख गरिन्। उनका अनुसार सरकार लोकतान्त्रिक मूल्य र अभ्यासप्रति जिम्मेवार हुनुपर्छ।
उनले प्रधानमन्त्री शाह नेतृत्वको सरकार बहुमतको आधारमा अघि बढ्दै गर्दा लोकतान्त्रिक आत्मा कमजोर हुने अवस्था देखिएको आरोप लगाइन्। थापाले बहुमतलाई सर्वशक्तिमान ठानेर अघि बढ्दा शासन प्रणालीमा अहंकार बढ्ने र दीर्घकालीन रूपमा त्यसले नकारात्मक असर पार्ने बताइन्।
उनका अनुसार लोकतन्त्र संवाद, सहकार्य र प्रतिपक्षको आवाज सुन्ने अभ्यासबाट बलियो हुन्छ। थापाले सरकारलाई साझा एजेन्डा लिएर अघि बढ्न आग्रह गर्दै सहकार्य एकतर्फी नहुने स्पष्ट पारिन्।
उनले सुशासन र विकास दम्भबाट नभई संवाद र उत्तरदायित्वबाट मात्र सम्भव हुने भन्दै सरकारलाई विनम्रता र जवाफदेहिताको अभ्यास गर्न सुझाव दिइन्। साथै, संसद्को मर्यादा जोगाउने जिम्मेवारी सरकार र प्रतिपक्ष दुवैको भएको बताइन्।