नेपालको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन शाह

  • प्रकाशित मिति : २०८३ जेष्ठ १२, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक र देखिने गरी उकास्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (ईयू) तथा यसका सदस्य राष्ट्रका राजदूत र काठमाडौंमा रहेका अन्य देशका कूटनीतिक नियोग प्रमुखहरूसँग भएको संयुक्त भेटमा उनले यस्तो धारणा राखेका हुन्।



प्रधानमन्त्री शाहले सरकार वर्तमान जिम्मेवारीको गम्भीरता पूर्ण रूपमा बुझेको उल्लेख गर्दै सुशासन र समावेशी आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने स्पष्ट पारे। उनका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उनले हालैको निर्वाचनले सुशासन र आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको बताएका छन्।

उनले नीतिगत निरन्तरता रहने स्पष्ट पार्दै भने, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्य संरक्षण र राजनीतिक स्थिरतामा प्रतिबद्ध छौँ।”

प्रधानमन्त्री शाहले सरकारलाई विश्व बजारसँग जोड्दै लगानी आकर्षित गर्ने, प्रक्रिया सहज बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र दिगो विकासतर्फ अघि बढ्ने लक्ष्य रहेको बताए।

उनका अनुसार नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अपनाइरहेको छ, जहाँ छिमेकी र विकास साझेदारसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित रहनेछ।

भेटमा उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको पनि बताए। साथै, विश्वका विभिन्न भागमा जारी द्वन्द्वका कारण सर्वसाधारण बढी प्रभावित भइरहेको उल्लेख गर्दै समस्याको समाधान सैन्य विकल्प होइन, संवाद र कूटनीतिबाट हुनुपर्नेमा जोड दिए।

ईयू तथा अन्य कूटनीतिक प्रतिनिधिहरूले नेपालमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै नयाँ सरकारप्रति बधाई दिएका थिए। उनीहरूले आर्थिक वृद्धि र विकासका विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न तयार रहेको पनि बताएका छन्।