भारतको पाँचदिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक र भूराजनीतिक बहसको सीमाभन्दा माथि उठाएर विकास, लगानी, व्यापार र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्समा लेखमार्फत लामिछानेले परराष्ट्र नीति र नेपाल–भारत सम्बन्धबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका हुन् ।
नेपाल–भारत सम्बन्धलाई ‘विकास कूटनीति’मा आधारित बनाउनुपर्नेमा जोड दिँदै उनले कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार र आर्थिक सहकार्यको इन्जिनमा रूपान्तरण गर्नुपर्ने लेखेका छन् । नेपालको जलविद्युत् क्षमता भारतको बढ्दो ऊर्जा आवश्यकताको स्वच्छ स्रोत बन्न सक्ने उल्लेख गर्दै उनले एकीकृत क्षेत्रीय ऊर्जा बजार निर्माणको आवश्यकता औँल्याएका छन् ।
सीमापार व्यापारमा देखिने प्रशासनिक जटिलताहरू हटाउन आधुनिक र डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) तथा उन्नत पारवहन करिडोर विकास गर्नुपर्ने लेखमा उल्लेख गरेका छन् । त्यसैगरी जनकपुर, लुम्बिनी, बोधगया तथा हिमाली क्षेत्रहरूलाई जोड्ने साझा पर्यटन सर्किट निर्माण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सकिने धारणा पनि उनले व्यक्त गरेका छन् ।

खेलकुद क्षेत्रमा सहकार्य विस्तारको सम्भावनाबारे चर्चा गर्दै लामिछानेले नेपाली खेलाडी तथा नेपालका रंगशालाहरूलाई भारतीय प्रिमियर लिग (आईपीएल) जस्ता प्रतियोगितासँग जोड्ने विषयमा समेत सोच भइरहेको उल्लेख गरेका छन् ।
लेखमा उनले कृषि, स्वास्थ्य, साइबर सुरक्षा र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्यको प्रशस्त सम्भावना रहेको बताए पनि त्यसका लागि आपसी विश्वासको वातावरण निर्माण आवश्यक रहेको बताएका छन् । नेपाल–भारतबीच समय–समयमा देखिएका विवादहरूलाई उग्र राष्ट्रवादको नाराबाजीबाट होइन, प्रमाणमा आधारित संवाद र आपसी समझदारीबाट समाधान गर्नुपर्ने उनको धारणा छ ।
लामिछानेले आर्थिक रूपमा समृद्ध र राजनीतिक रूपमा स्थिर नेपाल भारतका लागि पनि रणनीतिक रूपमा महत्त्वपूर्ण हुने उल्लेख गर्दै नेपालको विकासलाई क्षेत्रीय स्थिरतासँग जोडेर हेर्नुपर्ने बताएका छन् ।
उनले वर्तमान समयलाई नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन् । विगतका राजनीतिक अस्थिरता र भ्रष्टाचारको अध्याय अन्त्यतिर पुगेको दाबी गर्दै उनले युवा मतदाताको अपेक्षा पूरा गर्न नीतिगत निरन्तरता, पारदर्शिता र व्यावसायिक नेतृत्व आवश्यक रहेको बताएका छन् ।
लामिछानेले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा गरेको सम्बोधन र नेपाली जनतासँगको प्रत्यक्ष संवादलाई स्मरण गर्दै दुवै देशबीचको सम्बन्धलाई पुनः विश्वास, सम्मान र साझा समृद्धिको आधारमा अगाडि बढाउनुपर्ने लेखमा उल्लेख गरेका छन् ।