इंग्ल्यान्डका डाक्टरहरु फेरि हड्तालमा, हजारौं अपरेसन र ‘अपोइन्टमेन्ट’ प्रभावित हुने

  • प्रकाशित मिति : २०८३ जेष्ठ १९, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन । इंग्ल्यान्डमा रेजिडेन्ट भनिने जुनियर डाक्टरहरूले यही जुन १५ तारिख बिहानदेखि १९ तारिख बिहानसम्म चार दिने हड्ताल घोषणा गरेका छन्।

यो उनीहरुले तलब वृद्धिको माग गर्दै सन् २०२३ देखि गर्दै आएको १६औँ हड्ताल हो।



घोषित यो हड्तालका कारण इंग्ल्यान्डका अस्पतालहरूमा पहिले नै तय भएका हजारौँ अपरेशन, जाँच तथा अपोइन्टमेन्ट प्रभावित हुने अनुमान गरिएको छ ।

इङ्ग्ल्याण्डमा रेजिडेन्ट डाक्टर भनेका मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेर अस्पतालमा काम गर्दै विशेषज्ञ तालिम लिइरहेका डाक्टर हुन्। उनीहरूलाई पहिले ‘जुनियर डाक्टर’ भनिन्थ्यो। उनीहरूले अस्पतालमा बिरामी जाँच्ने, आपत्कालीन सेवा दिने, वार्ड व्यवस्थापन गर्ने, अपरेशनमा सहयोग गर्ने तथा वरिष्ठ कन्सल्टेन्ट डाक्टरसँग मिलेर उपचार गर्नेजस्ता जिम्मेवारी निर्वाह गर्छन्।

हाल इङ्ग्ल्यान्डको एनएचएसमा करिब ७५ हजारदेखि ८० हजारसम्म रेजिडेन्ट डाक्टर कार्यरत छन्। एनएचएसका अनुसार उनीहरू सम्पूर्ण डाक्टर जनशक्तिको झन्डै आधा हिस्सा हुन् र उनीहरुलाई बेलायतको स्वास्थ्य सेवाको ‘मेरुदण्ड’ मानिन्छ।

हाल नयाँ रेजिडेन्ट डाक्टरको आधारभूत तलब वार्षिक ४० हजार पाउण्डभन्दा माथि पुगेको छ भने वरिष्ठ डाक्टरहरूले ७६,५०० पाउण्डसम्म पाउँछन्।

सरकारले भने पछिल्ला चार वर्षमा रेसिडेन्ट डाक्टरहरूको तलब ३३ प्रतिशत भन्दा बढी बढाइसकिएको र थप वृद्धि ‘अवास्तविक तथा धान्न नसकिने’ बताएको छ।

ब्रिटिश मेडिकल एशोसिएसन (बिएमए) ले डाक्टरहरूको वास्तविक तलब सन् २००८ यता मुद्रास्फीतिसंग दाँजेर हेर्दा करिब २६ प्रतिशत घटेको दाबी गरेको छ। त्यसैले ‘पूर्ण तलब पुनस्र्थापना’ आवश्यक रहेको उसको भनाइ छ ।