नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बालेन साहले संसदको रोष्ट्रममा उभिएर देशद्रोही अभिव्यक्ति दिएको बताएका छन् । काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नै नहुने कुरा बलेको बताएका हुन् ।
उनले धेरै होइन, एक इन्च पनि भारतको भूमि नमिचेको बताए । अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री त्यस दिन न कार्यक्रम, न केही कार्यसूची, अचानक के का लागि सुनाएको ? सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो । नेपालको विपक्षमा बोल्ने काम भयो । त्यसदिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई यो भन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन। तर देशद्रोही कुरामा कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको छ ।’
उनले सीमा विवादबारे दुई देशको कुरामा अर्को देशलाई तान्ने कुरा अकूटनीतिक भएको बताए । गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन साहले भारतसँगको सीमा विवादमा इङ्ल्याण्डसँग कुरा गर्ने बताएका थिए । उनले सीमा समस्याको दुई देश बसेर समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रा छिमेकीहरूसँगको छलफलमा दुई पक्षीय हिसाबले समाधान गर्छौँ। तेस्रो पक्ष सहभागी गराउँदैनौँ । नेपाल तपाईँको घरको सम्पत्ति होइन। तपाई जन्मिनुभन्दा धेरै अगाडिको देश हो।’
उनले प्रधानमन्त्रीको व्यवहारमा ‘बचपना’ देखिएको बताए । अध्यक्ष ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउने क्रममा सेना देखिएकोमा उनले आपत्ति जनाए । उनले भने, ‘बालेनको पक्ष र सुकुम्बासीको विपक्षमा सेना हुनुहुँदैन । उहाँहरूले आफूलाई मर्यादित ठाउँमा राख्नुपर्छ ।’