पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङ को सम्पत्ति छानबिन गर्न गठित समितिले उनको सम्पत्तिमा अस्वाभाविकता वा स्रोत नखुलेको ठोस आधार नभेटिएको निष्कर्ष निकालेको छ।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको समितिले शुक्रबार प्रधानमन्त्रीलाई ४५ पृष्ठको प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा गुरुङको सम्पत्ति, आम्दानीका स्रोत, ऋण, सेयर लगानी, बैंक मौज्दात तथा रेमिट्यान्सलगायतका विषयको अध्ययन गरिएको उल्लेख छ।
समितिका अनुसार गुरुङका नाम र परिवारसँग सम्बन्धित जग्गाजमिन तथा अन्य सम्पत्तिको मूल्यांकन गर्दा अस्वाभाविक वृद्धि वा स्रोत नखुल्ने अवस्था देखिएन। साथै विवादास्पद व्यवसायी दीपक भट्ट सँग प्रत्यक्ष सम्बन्ध वा आर्थिक कारोबार भएको प्रमाणसमेत फेला परेन।
छानबिनका क्रममा गुरुङले ठमेलस्थित होटल व्यवसायबाट आम्दानी गरी सेयर, सुन तथा अन्य क्षेत्रमा लगानी गरेको बताएका थिए। समितिले ऋण सम्बन्धी दाबी र बैंक विवरणसमेत परीक्षण गरेको जनाएको छ।
गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि स्रोतबारे प्रश्न उठ्दै आएका थिए। त्यसपछि उनले ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। मन्त्रिपरिषद्ले २८ वैशाखमा छानबिन समिति गठन गरेको थियो।