१३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई

  • प्रकाशित मिति : २०८३ जेष्ठ २४, आईतवार
  • नेपाल टेल संवाददाता

लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा आयोजित १३औँ पाँचथर कप फुटबल प्रतियोगिताको उपाधि फार्नबोरो इलाइटले जितेको छ। फेल्थाममा शनिबार सम्पन्न फाइनलमा फार्नबोरो इलाइटले बीबीसीलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

मेन टिमतर्फ फार्नबोरो इलाइटका अनुज थापा सर्वाधिक गोलकर्ता तथा रायन कुँवर उत्कृष्ट खेलाडी घोषित भए। विजेता टोलीले कपसहित १,८०० पाउण्ड नगद र व्यक्तिगत ट्रफी प्राप्त गर्यो।



प्रतियोगिता मेन टिम, भेटेरान र सुपर भेटेरान गरी तीन समूहमा सञ्चालन गरिएको थियो। सुपर भेटेरानतर्फ डीएफसी यूकेले इलाम एफसीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै उपाधि जित्यो भने भेटेरानतर्फ ड्याडी एफसीले जोइन्ट एफसीलाई १–० ले पराजित गर्यो।

कार्यक्रमको उद्घाटन किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु र पाँचथर समाज सेवा यूकेकी कार्यवाहक अध्यक्ष दीपा योङ्या लिम्बुले संयुक्त रूपमा गरेका थिए। प्रतियोगितामा २५ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।