प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफूलाई पनि राजदूत बन्न इच्छा लागेको भन्दै प्रधानमन्त्रीको नम्बर मागेको व्यङ्ग्यात्मक फेसबुक पोस्ट सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ।
शाहले बुधबार राति फेसबुकमा लेखेका छन्, “मलाई पनि Ambassador बन्न मन छ, PM को Number छ भने यसो दिनुस् न?” उनको उक्त अभिव्यक्ति पछिल्लो समय चर्चामा रहेको राजदूत नियुक्ति र त्यससँग जोडिएको घटनाप्रति लक्षित कटाक्षका रूपमा हेरिएको छ।
पोस्ट सार्वजनिक भएको केही समयमै हजारौँ प्रतिक्रिया र टिप्पणी आएका छन्। धेरै प्रयोगकर्ताले यसलाई राजनीतिक व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन् भने केहीले प्रधानमन्त्रीकै नामबाट सञ्चालित सामाजिक सञ्जाल खाता वास्तविक हो वा होइन भन्ने प्रश्नसमेत उठाएका छन्।
झन् रोचक पक्ष के रह्यो भने, पोस्टमा टिप्पणी गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल ले “Message gardim?” लेखेपछि संवादले थप चर्चा पायो। मन्त्रीको उक्त प्रतिक्रियामा समेत हजारौँले प्रतिक्रिया जनाएका छन्।
राजदूत प्रकरणसँग जोडिएको संकेत
बालेनको पोस्ट पछिल्ला दिनमा चर्चामा रहेको एक प्रशासनिक घटनासँग जोडिएको हुन सक्ने अनुमान गरिएको छ। केही दिनअघि एक सरकारी सचिवले आफूलाई राजदूत बन्न इच्छा रहेको भन्दै प्रधानमन्त्रीलाई सन्देश पठाएको विषय सार्वजनिक भएको थियो। उक्त घटनापछि सम्बन्धित अधिकारी दिनभर स्पष्टीकरण र सुरक्षा निकायको सोधपुछको दायरामा परेको चर्चा चलेको थियो।
त्यही प्रसङ्गलाई लिएर बालेनले व्यङ्ग्य गर्दै “प्रधानमन्त्रीको नम्बर भए दिनुस्” भन्ने शैलीमा टिप्पणी गरेको राजनीतिक वृत्तमा चर्चा छ। यद्यपि शाहले पोस्टमार्फत कुनै व्यक्ति वा घटनाको नाम भने उल्लेख गरेका छैनन्।
सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया
पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू दुई धारमा देखिएका छन्। एक पक्षले यसलाई सत्ता र नियुक्ति प्रक्रियामाथिको सिर्जनात्मक व्यङ्ग्य भन्दै प्रशंसा गरेको छ भने अर्को पक्षले सार्वजनिक पदमा रहेका व्यक्तिहरूबीच यस्तो शैलीको संवादले राजनीतिक बहसलाई हल्का बनाउने तर्क गरेको छ।
राजनीतिक घटनाक्रमलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने बालेनको पुरानो शैलीकै निरन्तरता मानिएको यो पोस्टले फेरि एकपटक सामाजिक सञ्जालमा चर्चा, बहस र मनोरञ्जन तीनै पक्षलाई एकैसाथ तानेको छ।