पूर्वगृहमन्त्री सुदन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताए । पूर्वगृहमन्त्री गुुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गरे ।
उनले भने, ‘राम्रो कुरालाई सबै दलले साथ दिनुपर्यो । विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।’ उनले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
‘मैले गरेको बाचा पहिला थियो, अहिले पनि छ भोलि पनि रहिरहनेछ’, उनले भने, ‘गोरखाले मलाई जिताएको फोटो खिच्न होइन, काम गर्न हो भन्ने बुझेको छु ।’
उनले आफ्नो सम्पत्तिका विषयमा उठाइएका प्रश्नहरूको छानबिनका निम्ति सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताए । उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु । यस्तो अवस्था आयो कि छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ ।’
उनले आफू पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउन आग्रह गरेका छन् । उनले भने, ‘यदि, समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।’