लन्डन । भूपू ब्रिटिस गोर्खाहरुको मुद्दामा सोमबार ८ जुनमा नेपाल र बेलायतबीच उच्चस्तरीय वार्ता भएको छ ।
बेलायती रक्षामन्त्री जोन हिली र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भर्चुअल उपस्थितिमा नेपाली दूतावास लन्डनमा गोर्खा मुद्दामा वार्ता भएको हो । पहिलोपटक मन्त्रीस्तरीय वार्ता हुनु सकारात्मक रहेको बेलायती सांसद एलेक्स बेकरले प्रतिक्रिया जनाउनुभएको छ ।
वार्तामा बेलायत सरकारकी सहायक मन्त्रीस्तरकी भेटेरान मिनिस्टर लुइस स्यान्डरर्स जोन्स नेतृत्वमा टोली वार्तामा बसेको थियो । बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, मिलिटरी एट्याची अनुप शाहसहित भूपू गोर्खा प्रतिनिधि पनि सहभागी थिए ।
गोर्खा प्रतिनिधि र नेपाली पक्षको मागअनुसार आगामी जुलाईमा पुन: वार्ता हुन सक्ने जनाइएको छ ।
यसअघि गोर्खाहरुले लामो समयदेखि उठाउँदै आएको समान पेन्सनको मागमा बेलायत सरकार छलफल नै गर्न तयार नभएपछि गोर्खाहरुको तर्फबाट अफोर्डेबल सोलुसन्सका नाममा सहमतिको प्रस्ताव पठाइएको थियो ।