महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त, आजै शपथ लिने

  • प्रकाशित मिति : २०८३ जेष्ठ २६, मंगलवार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधिसभा सदस्य महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन शाह ले मंगलबार पुनलाई मन्त्री नियुक्त गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार पुनले गृहमन्त्रीमा पुनः फर्किन लागेका सुदन गुरुङ सँगै आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।



पुन यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। मन्त्री पदबाट राजीनामा दिएपछि उनले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन प्राप्त थियो।

सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई प्राथमिकतामा राख्दै गत वैशाख ३० गते मन्त्रिपरिषद् बैठकमार्फत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गर्ने निर्णय गरेको थियो। नवगठित मन्त्रालयको नेतृत्व सम्हाल्न पुनलाई जिम्मेवारी दिइएको हो।

सरकारले अनुसन्धान, नवप्रवर्तन, प्रविधि विकास तथा वैज्ञानिक सोचको प्रवर्द्धनका लागि छुट्टै मन्त्रालय स्थापना गरेसँगै पुनको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले मन्त्रालयको नेतृत्व सम्हालेपछि यस क्षेत्रका नीतिगत तथा संरचनागत सुधारले गति लिने अपेक्षा गरिएको छ।