साउनदेखि नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालन गर्ने तयारी

  • प्रकाशित मिति : २०८३ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी तयारी तीव्र पारिएको छ। आयोजनाका अनुसार सुरुङभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन् भने उद्धार, सुरक्षा र सवारी व्यवस्थापनसम्बन्धी परीक्षण भइरहेको छ।

आयोजना निर्देशक सौजन्य नेपाल ले सुरुङमार्ग बाहिरको पहिरो नियन्त्रणको काम मात्र बाँकी रहेको र असारभित्र सबै तयारी पूरा गर्ने लक्ष्य रहेको बताए। २ हजार ६८८ मिटर लम्बाइको यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।



सुरुङमार्ग प्रयोग गरेबापत सवारी चालकले नगद, क्यूआर कोड वा इलेक्ट्रोनिक स्टिकरमार्फत शुल्क तिर्न सक्ने व्यवस्था गरिएको छ। सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मा पाँच वर्षका लागि यूसिन एआरटी कम्पनी लाई दिइएको छ।

आयोजनाका अनुसार दैनिक करिब ८ हजार सवारीसाधन आवतजावत गर्ने नागढुङ्गा–नौबिसे सडकखण्डका झन्डै ६० प्रतिशत सवारीले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। दुईपाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्गमा प्रवेश अनुमति दिइने छैन।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु ६० तोकिएको छ । त्यसैगरी, मिनीबस, मिनी टिपर–ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने रु ८० दस्तुर तोकिएको छ ।

बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीका लागि काठमाडौँ प्रवेश गर्दा रु २६० दस्तुर तोकिएको छ । सोही सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु २०० दस्तुर तोकिएको छ । मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० दस्तुर तोकिएको छ । त्यसैगरी, काठमाडौँबाट प्रस्थान गर्दा सोही वर्गका लागि भने रु २५० दस्तुर तोकिएको छ ।