अख्तियारलाई आरजु राणा देउवाको इमेल, अनुसन्धानमा सहयोग गर्न तयार रहेको दाबी

  • प्रकाशित मिति : २०८३ असार ४, बिहीबार
  • नेपाल टेल संवाददाता

विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रकरणमा बयानका लागि म्याद तामेल भएपछि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेलमार्फत जवाफ पठाएकी छिन्।

अख्तियार स्रोतका अनुसार उनको नामबाट आयोगको आधिकारिक इमेलमा सन्देश आएको हो। उक्त इमेलमा आफू हाल उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने उल्लेख गरिएको बताइएको छ।



इमेलमा अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर स्वास्थ्य अवस्थाका कारण तत्काल बयान दिन उपस्थित हुन नसक्ने व्यहोरा समावेश गरिएको स्रोतले जनाएको छ।

यसअघि अख्तियारले ई–पासपोर्ट खरिद प्रक्रियामा अनुसन्धान अघि बढाउँदै काठमाडौं बुढानीलकण्ठस्थित उनको घरमा म्याद तामेल गरेको थियो। आयोगले सूचना टाँस गर्दै बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

अख्तियारले उक्त प्रकरणमा परराष्ट्र मन्त्रालयका तत्कालीन निर्णय प्रक्रिया र खरिद प्रक्रियामाथि अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार प्रारम्भिक कागजात अध्ययनमा तत्कालीन मन्त्री स्तरबाट प्रत्यक्ष लिखित निर्देशन वा निर्णय देखिएको छैन।

पूर्वपरराष्ट्रमन्त्री देउवा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयदेखि विदेशमै छन् ।