उपसभापतिमा तोसिमा कार्कीले गरिन् उम्मेदवारी घोषणा, अरू आकांक्षी को-को?

  • प्रकाशित मिति : २०८३ असार १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनतर्फ डा. तोसिमा कार्कीले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

पहिलो चरणमा भएको केन्द्रीय समिति निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि डा. कार्कीले उपसभापति (महिला) तर्फ उम्मेदवारी घोषणा गरेकी हुन्।



पार्टीको संशोधित विधानअनुसार पदाधिकारी संख्या १९ जनाको छ। तर यी सबै पदाधिकारीका लागि निर्वाचन हुने छैन।

१९ सदस्यीय पदाधिकारीमध्ये सभापतिसहित ७ जनाको मात्र निर्वाचन हुनेछ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ जना पदाधिकारीका लागि मात्र मतदान हुनेछ। वरिष्ठ नेतासहित १२ जना पदाधिकारी मनोनीत हुने छन्।

निर्वाचन हुने पदाधिकारीमा एक जना उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह-महामन्त्री (खुला) र एक महिला सहमहामन्त्री छन्।

खुलातर्फको महिला उपसभापतिमा डा. तोसिमा कार्कीसँगै कानुन मन्त्री सोबिता गौतम र अहिले पार्टी कोषाध्यक्ष रहेकी लीमा अधिकारीले प्रतिस्पर्धा गर्ने चर्चा छ।

यसबाहेक पूर्वउपसभामुख इन्दिरा राना मगर र चुनावअघि विवेकशील साझाबाट आएकी समीक्षा बाँस्कोटाले पनि उपसभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चर्चा छ।