संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रारका रूपमा कार्यरत छन्।
सरकारी वकिलबाट सेवा सुरु गरेका कार्कीले पछि न्याय सेवामै समूह परिवर्तन गर्दै न्याय प्रशासनतर्फ काम गरेका थिए। प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएसँगै उनले सर्वोच्च अदालतको रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइ प्रक्रिया पार गर्नुपर्नेछ।
परिषद्ले निर्वाचन आयोगका दुई रिक्त आयुक्त पदमा पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बा र निर्वाचन आयोगका पूर्व उपन्यायाधिवक्ता गुरु वाग्लेलाई पनि सिफारिस गरेको छ।
डा. सुब्बा नेपाल प्रहरीमा सूचना प्रविधि (आईटी) विशेषज्ञका रूपमा कार्यरत रहँदै डीआईजी पदबाट अवकाश भएका हुन्। उनी हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालयसँग आबद्ध छन्।
यस्तै, ओखलढुंगाका गुरु वाग्ले निर्वाचन आयोगबाट उपन्यायाधिवक्ताका रूपमा अवकाश प्राप्त अधिकारी हुन्। यसअघि प्रमुख निर्वाचन आयुक्तको पद रिक्त रहेपछि निर्वाचन आयोग कार्यबाहक नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। हाल कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी रामप्रसाद भण्डारीले सम्हालिरहेका छन्। उनले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नेतृत्व गरेका थिए।
भण्डारी आगामी साता ६५ वर्षे उमेरहदका कारण अवकाश हुँदैछन्।