काठमाडौंको रातोपुलस्थित नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि सोमबार बिहान शंकास्पद रूपमा पार्किङ गरिएको गाडी फेला परेको छ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी बिहान करिब ७ बजेदेखि नै बाटो अवरुद्ध हुने गरी राखिएको थियो। प्रत्यक्षदर्शीले चालक गाडी राखेर प्रहरीको गाडीमा चढेर गएको दाबी गरेका छन्, तर प्रहरीले यसको आधिकारिक पुष्टि गरेको छैन।
यसअघि सोमबार बिहान कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि पनि प्रवेश मार्ग छेक्ने गरी तीनवटा गाडी पार्किङ गरिएको थियो। ती गाडीमध्ये एउटा सानिमा बैंकको नाममा तथा अन्य दुई सुनिल पौडेल र सुवाष भण्डारीको नाममा दर्ता रहेको खुलेको छ।
प्रहरीले क्रेनको सहायताले ती गाडी हटाइसकेको छ। सञ्चारमाध्यमका कार्यालय र गगन थापाको निवासअगाडि उस्तै प्रकृतिका घटना भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले गाडी राख्ने व्यक्ति, उद्देश्य र घटनाबीचको सम्भावित सम्बन्धबारे अनुसन्धान तीव्र बनाएको जनाएको छ।