प्रतिपक्षी अभिव्यक्तिमाथि रास्वपा सांसदको नियमापत्ति

  • प्रकाशित मिति : २०८३ असार ३०, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रतिनिधिसभामा सरकारको आलोचना गर्दै प्रतिपक्षी सांसदहरूले उठाएका अभिव्यक्तिमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नियमापत्ति जनाएका छन्।

मंगलबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले न्युरोडलगायत क्षेत्रमा सडक जाम, मिडिया हाउस र नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि शंकास्पद गाडी पार्किङजस्ता घटनामा ‘राज्य संरक्षित’ व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाए। त्यसपछि रास्वपा सांसद टिका संग्रौलाले राज्यको प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिइएको भन्दै नियम २१ अनुसार नियमापत्ति जनाइन्। उनले कुनै व्यक्तिको गतिविधिलाई सिंगो राज्यसँग जोड्न नमिल्ने बताइन्।



त्यसैगरी, कांग्रेस सचेतक निश्कल राईले सुकुमवासी होल्डिङ सेन्टर डुबान, गणेश नेपालीको आत्मदाह तथा शंकास्पद गाडी पार्किङका घटनाले सरकारको चरित्र उजागर गरेको टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८’को संज्ञा दिएका थिए। उनले सरकारले ‘बालेन शाहलाई प्रश्न गर्न नपाइने’ वातावरण बनाउन खोजेको आरोप पनि लगाए।

राईको अभिव्यत्तिपछि रास्वपा सांसद शिवशंकर यादवले नियमापत्ति जनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रधानमन्त्रीलाई ‘श्री ८’ भनेर सम्बोधन गर्नु संविधान र संसदीय मर्यादाविपरीत रहेको भन्दै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे।