जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मनसुन प्रणाली थप सक्रिय हुने भएकाले देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। शनिबारसम्म पनि पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको उनले बताइन्।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाका कारण पहिरो जाने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले लामो दूरीको यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझ्न तथा अद्यावधिक मौसमी सूचना लिएर मात्र यात्रा गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।