काठमाडौंकाे तारकेश्वर नगरपालिका–१, चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
तारकेश्वर नगरपालिका–९ निवासी ४५ वर्षीया रश्मी रिजालको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार रिजाल शुक्रबार ‘कार्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन् । तर, कार्यालय नपुगी सम्पर्कविहीन भएपछि परिवारका सदस्यले सोही दिन खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीले खोजतलास गर्ने क्रममा शनिबार कारको पछाडिको सिटमा जलेको अवस्थामा रिजालको शव फेला पारेको हो । प्रहरीका अनुसार कारको भित्री भाग अधिकांश जलेको अवस्थामा रहेको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा धुवाँका कारण निस्सासिएर रिजालको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।