प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना तथा त्यसपछिको शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन् ।
ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको अवस्थालाई तत्काल नियन्त्रणमा लिन, आम नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिए ।
उनले शान्ति–सुरक्षा कायम गर्ने विषयमा कुनै पनि प्रकारको सम्झौता नगर्न तथा गृह मन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि सरकारले सुरक्षा व्यवस्था थप सुदृढ बनाउँदै छानबिन, शान्ति स्थापना तथा सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई सक्रिय रूपमा परिचालन गरेको जनाएको छ।