सरकारले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको समितिमा दुई जना प्राविधिक सदस्य थप गरेको छ।
गृह मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक तथा फरेन्सिक परीक्षणका लागि प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्य नियुक्त गरेको हो। मन्त्रालयले समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन पनि निर्देशन दिएको छ।
गत आइतबार राति सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपको छानबिन गर्न गृह मन्त्रालयले सोमबार सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। प्राविधिक विशेषज्ञ थपिएसँगै समितिले घटनाको वैज्ञानिक तथा तथ्यगत अनुसन्धानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, मन्त्रालयले सुनसरीजस्तै प्रकृतिका घटना अन्य जिल्लामा हुन नदिन पूर्वतयारीसमेत तीव्र पारेको जनाएको छ। बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायत संवेदनशील जिल्लामा शान्ति, सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका अनुसार ती जिल्लामा सुरक्षा अनुगमन र समन्वयलाई थप सुदृढ बनाइएको छ। बिहीबार गृहमन्त्री, गृहसचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बसेको बैठकले जिल्लागत सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरेको थियो।
मन्त्रालयले वार्तामार्फत सुनसरीको समस्या समाधान गर्ने प्रयास जारी रहेको उल्लेख गर्दै देवानगञ्जसहित अन्य संवेदनशील क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएको जनाएको छ।