रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सुनसरी–सिराहालगायतका प्रदर्शनमा सद्भाव कायम राख्न आग्रह

  • प्रकाशित मिति : २०८३ श्रावण १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धार्मिक समुदायका अगुवासँग छलफल गरेका छन्।

शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा लामिछानेले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्। छलफलका क्रममा पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएको सामाजिक अवस्था र सद्भाव कायम राख्ने विषयमा कुराकानी भएको जनाइएको छ।



त्यसैगरी, लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गरेका छन्।

रास्वपाका अनुसार छलफलमा सुनसरी, सिराहालगायत देशका विभिन्न भागमा भइरहेका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न समुदायस्तरबाट सकारात्मक सन्देश प्रवाह गर्न धार्मिक अगुवाहरूलाई आग्रह गरिएको छ।

रास्वपाले पछिल्लो समय विभिन्न स्थानमा भइरहेका गतिविधिका बीच आपसी सद्भाव, सामाजिक एकता र शान्ति कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।