भक्तपुरमा खाना पकाउने एलपी ग्यास तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा एक किराना पसल सञ्चालक पक्राउ परेका छन् ।
चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकस्थित किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा चेकजाँच तथा अनुगमन गरेको थियो ।
प्रहरीका अनुसार पसल सञ्चालक ५७ वर्षिय तुलसीराम त्वयनाले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँ मा बिक्री वितरण गरेको पाइएको थियो ।
अनुगमनका क्रममा प्रहरीले पसलबाट ३ थान ग्यास सिलिन्डर समेत बरामद गरेको जनाएको छ । ग्यास बिक्रीमा संलग्न रहेको आरोपमा पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।