गगन थापाको आरोप : ‘सरकार बरालियो, जताततै छोटे राजा देखिन थाले’

  • प्रकाशित मिति : २०८३ श्रावण २५, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको शासकीय शैलीका कारण मुलुकमा ‘छोटे राजाहरू’ देखिन थालेको आरोप लगाएका छन्।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकार शासकीय अराजकताबाट बरालिएको टिप्पणी गरे। उनले सरकारलाई खबरदारी गरेर सही बाटोमा ल्याउने जिम्मेवारी कांग्रेसको भएको बताए।



‘विस्तारै शासकीय शैली कस्तो बन्न थाल्यो भने, जताततै छोटे राजाहरू देखिन थाले। यसले विस्तारै–विस्तारै धेरै कुरामा डुबाउन सक्छ,’ उनले भने, ‘यो सरकार बरालिएको छ। खबरदारी गरेर ल्याउने काम हाम्रो हो।’

थापाले सरकारले आफ्नो संवैधानिक सीमा नाघ्न थालेको आरोपसमेत लगाए। कार्यपालिकाले न्यायपालिका, संवैधानिक निकाय र संसद्लाई समेत आफ्नो आदेशपालक ठान्न थालेको उनको भनाइ छ।

‘कार्यपालिकाले न्यायपालिकाको सीमा पनि मैभित्र पर्छ भन्न थाल्यो। संवैधानिक निकाय पनि मेरो आदेशपालक हो भन्न थाल्यो। संसद् पनि मेरो आदेशपालक हो भन्न थाल्यो,’ उनले भने, ‘राज्य शासकीय अराजकताबाट आक्रान्त भएको छ। यसको छुट यो सरकारलाई दिन हुँदैन।’

सरकारले आफ्नो अधिकारको सीमा नाघ्न नहुनेमा जोड दिँदै थापाले शासन सञ्चालनलाई सवारीसाधनको लेनसँग तुलना गरे। ‘तपाईंले लेन मिच्न पाउनुहुन्न। स्पिड बढाउन पाउनुहुन्छ, ब्रेक नलगाउन पाउनुहुन्छ। तर लेनभन्दा बाहिर जान पाउनुहुन्न,’ उनले भने।

थापाले सरकारको कार्यशैलीमाथि निरन्तर खबरदारी आवश्यक रहेको भन्दै कांग्रेसले त्यसका लागि भूमिका निर्वाह गर्ने बताए।