अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध

  • प्रकाशित मिति : २०८३ श्रावण ३१, आईतवार
  • नेपाल टेल संवाददाता

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी र सडक कटान हुँदा यातायात प्रभावित भएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।



बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।

त्यस्तै, मेची राजमार्ग, अरनिको राजमार्ग, त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, भेरी करिडोर, कोशी राजमार्ग, बेँसीसहर–मनाङ, बेनी–जोमसोम, भालुवाङ–लिवाङ सडक र पृथ्वीराजमार्गका विभिन्न खण्ड पहिरो तथा सडक भासिँदा अवरुद्ध भएका छन्।

निरन्तर वर्षाका कारण थप पहिरो र बाढीको जोखिम रहेकाले प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।