नेपाली कांग्रेसको इतर समूहले काठमाडौंमा आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापनमा निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको विषयलाई जोड दिएपछि यसको राजनीतिक अर्थबारे चर्चा सुरु भएको छ।
३१ साउनमा देउवाले आफू हिन्दु भएको, हिन्दु परम्पराअनुसार ब्रतबन्ध र विवाह भएको तथा पशुपतिनाथको पूजा गर्ने गरेको बताएका थिए।
देउवा झन्डै पाँच महिनापछि काठमाडौं फर्किएलगत्तै सरकार र कांग्रेस नेतृत्वप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए। त्यसपछि राष्ट्रिय भेलामा उनको हिन्दु धर्मसम्बन्धी अभिव्यक्तिलाई कांग्रेसभित्रको राजनीतिक दिशासँग जोडेर हेर्न थालिएको छ।
विशेषगरी हिन्दु राष्ट्रको पक्षमा लामो समयदेखि बोल्दै आएका नेता शशांक कोइरालालाई भेलाको संयोजक बनाइनु र समापनमा देउवाले हिन्दु पहिचानलाई जोड दिनुले कांग्रेसभित्र धर्मनिरपेक्षतासम्बन्धी बहस नयाँ चरणमा प्रवेश गर्न सक्ने संकेत गरेको विश्लेषण भइरहेको छ।
नेपालमा संविधान संशोधनको बहस चलिरहेका बेला आएको देउवाको अभिव्यक्तिले कांग्रेसको आगामी राजनीतिक रणनीति र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।