सरकारको काम व्यापरी बन्ने होइन, व्यापार गर्ने वातावरण बनाउने हो : सांसद कार्की

  • प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्की सरकारको काम व्यापारी बन्ने नभई व्यापार गर्ने वातावरण बनाउने भएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले सरकारले विकास विकास निर्माणको शैली परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

‘सरकार आफैँ उद्योग चलाउने होइन, सरकार उद्योग चलाउने निजीक्षेत्र सुरक्षित वातावरणका साथ नीति बनाएर अगाडि बढ्नुपर्छ’, सांसद कार्कीले भने, ‘सरकारको काम व्यापारी बन्ने होइन, व्यापारको वातावरण बनाउने हो । सरकारले उद्योगको मेसिन चलाउने होइन, नीतिको मेसिनरी चलाएर निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण दिने हो ।’



नेपालमा विकासको शैली गलत भएका कारण सरकार बनाएका विमानस्थलजस्ता पूर्वाधारले रोजगारी र आम्दानी दिन नसकेको उनको भनाइ छ ।

अर्थतन्त्रमा निजीक्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउँदै उनले भने, ‘त्यसैले अब निजीक्षेत्रलाई शंकाको दृष्टिले होइन, राष्ट्रिय आर्थिक साझेदारीको रूपमा हेर्नुपर्ने हुनुपर्छ । किनकि, निजीक्षेत्रलाई लगानी गर्न दिनुपर्छ, उद्योग खोल्ने, प्रतिस्पर्धा गर्ने र नाफा कमाउन दिनुपर्छ ।’ तर, सरकारले स्पष्ट नीति बनाएर कर तिर्ने, गुणस्तर कायम गर्ने, उपभोक्ताको अधिकार सुनिश्चित गर्ने बाध्यकारी कानुनी पनि बनाउनुपर्नेमा उनको जोड छ ।

बन्द उद्योगबारे सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने उनको भनाइ छ । वर्षौंसम्म घाटामा उद्योग चलाएर जनताको कर खर्च गर्नु समाधान नभएको उनले बताए । उनले सम्भावना भएका उद्योगको पारदर्शी मूल्यांकन गरेर निष्पक्ष प्रतिस्पर्धाबाट निजीक्षेत्र सञ्चालनका लागि उद्योग दिनु उचित हुने सुझावसमेत दिए ।

‘सरकारले उद्योग चलाउने होइन, उद्योग चलाउने वातावरण बनाउने हो । घाटा सरकार ब्यहोर्ने, बजेट थप्ने र कर जनताले तिरिरहने चक्र अब अन्त्य गर्नुपर्छ’, कार्कीले भने ।