अमरेन्द्रलाई ‘धम्की’ आएकोबारे सूर्य थापा : चर्चाका लागि गरिएको फन्डा पक्कै होइन होला

  • प्रकाशित मिति : २०८३ भाद्र ३, बुधबार
  • नेपाल टेल संवाददाता

स्ट्यान्डअप कमेडियन अमरेन्द्र यादवले आफूलाई तीन दिनदेखि धम्की आएको सार्वजनिक गरेपछि एमाले नेता सूर्य थापाले प्रतिक्रिया जनाएका छन् । अमरेन्द्रको भनाइले आफूलाई आश्चर्य लागेको उनको टिप्पणी छ ।

‘कमेडी बाज’ को पछिल्लो एपिसोडमा एमाले नेता थापा र रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकाल गेस्ट थिए । कार्यक्रममा यादवले उनीहरूलाई रोस्ट गरेका थिए । थापासँग भने उनको निकै सवाल जवाफ भएको थियो ।



थापाले आफू यस्ता कार्यक्रममा रुचि नराख्ने भए पनि कार्यक्रमका निर्देशक सुन्दर खनालले धेरै अनुरोध गरेपछि अतिथि बन्न सहमत भएको बताएका छन् ।

आफूले कमेडी-बाजको उक्त एपिसोडको भिडिओसमेत सेयर गरेको भन्दै उनले जुनसुकै प्रश्न र रोस्ट सुन्न र सामना गर्न सक्ने दम भएको मान्छेका रुपमा आफूलाई चित्रण गरेका छन् ।

थापाले लेखेका छन्, ‘कार्यक्रम प्रशारण भएपछि अमरेन्द्र यादवले धम्की आएको भनेर लामो स्टाटस लेखेको देख्दा आश्चर्य लागेको छ । चर्चामा आउन मच्चाएको फण्डा पक्कै होइन होला ।’

‘जानीबुझी त्यहाँ जानु भनेको रोस्ट, टोस्ट र होस्ट सबै स्वीकार गरेर नै हो’ उनी लेख्छन्, ‘म र मेरा समर्थकहरूले यस्तो कार्यक्रम मज्जासँग सुन्न र सहज रूपमा लिनसक्ने सामर्थ्य राख्दछौँ । यद्यपि यस्ता कार्यक्रमहरू सन्देशमूलक नभएर सस्ता बन्नु र अनावश्यक उडान भर्न रमाउनु उचित होइन ।’